तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
भदौ १६ , अनलाइन खेलखबर || नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा भएको तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले उचालेको छ ।
आज सोमबार लामाचौर पोखरामा भएको फाइनल खेलमा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस प्रतियोगिताको च्याम्पियन बनेको हो ।
एकतर्फी बनेको खेलमा पुलिसले न्यू डायमण्डमाथि पहिलो सेट २५-१६ को सेटमा पराजित गर्दा दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-२० ले जित हासिल गरेको थियो ।
यता प्रतियोगिताको तेस्रो स्थान भने गण्डकी प्रदेशले हात पार्यो । फाइनल अघि तेस्रोस्थानका लागि भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई गण्डकी प्रदेशले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
विजेता पुलिसले नगद १ लाख र उपविजेता न्यू डायमण्डले ६५ हजार प्राप्त गर्यो । यस्तै तेस्रोस्थान हासिल गरेको गण्डकीले तेस्रो नगद २५ हजार प्राप्त गर्न सफल भयो ।