
नेपालले एसियन भलिबल च्याम्पियनसिप नखेल्ने
काठमाडौं (अनलाइन खेल खबर) । नेपालले अगस्ट २९ देखि सेप्टेम्बर ४ तारिखसम्म फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ ।
एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार जारी गरेको खेल तालिका अनुसार नेपाललाई समावेश नगरेसँगै पहिलो पटक एसियन च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोली निराश हुन् पुगेको छ ।
खेल तालिका अनुसार अब प्रतियोगितामा कुल ८ टोलीले मात्र सहभागी जनाउने छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा आयोजक फिलिपिन्ससहित काजकिस्तान,चाईनिज ताइपे र उज्वेकिस्तान रहेका छन् । यस्तै समूह बी मा थाइल्याण्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया रहेका छन् ।
यसअघि सुरुमा १७ टोलीको सहभागिता हुने भनिएको भएपछि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीले प्रतियोगितामा भाग लिने निर्धारण भएको थियो । तर शुक्रबार जारी खेल तालिका अनुसार नेपालसहित भारत,हङकङ र जापानलाई समावेश गरिएको छैन ।
यस बारेमा एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले ठोस कारण बाहिर सार्वजनिक नगरेको भएपनि कोभिड-१९ को प्रभावलाई मध्य नजर गर्दै सहभागी नगराएको हुन् सक्ने आकंलन गरिएको छ ।
प्रतियोगितालाई लिएर निकै उत्साहित नेपाली टोलीले आफ्नो तयारी पनि तीब्र गतिमा गरिरहेको अवस्था थियो । जस अन्तर्गत बन्द प्रशिक्षणमा ३० खेलाडीलाई बोलाईएको थियो ।
पहिलो चरणबाट १८ खेलाडीलाई छ्नोट गर्दा अबको केही हप्तापछि अन्तिम टोलीको घोषणा गर्ने तयारीमा नेपाल भलिबल संघ रहेको थियो । तर करिब १ महिनाको तयारीमा जुट्दै गर्दा अब भने नेपाल प्रतियोगिताबाट बाहिर हुनु परेको छ ।