onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । पोखरामा भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ३-० को सेटमा हराउँदै पुलिसले उपाधि उचालेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो सेट पुलिसले २५-२२ ले जितेको थियो । यस्तै दोस्रो सेट पनि पुलिसले २५-२२ ले आफ्नो पक्षमा पार्न सफल हुँदा तेस्रो सेटमा पुलिसले एपीएफलाई २५-२१ ले हराएको थियो ।

प्रतियोगितामा यसअघि लिग चरणमा भेट हुँदा पनि पुलिसले एपीएफलाई हराएको थियो । त्यस क्रममा पनि पुलिस ३-० ले विजयी भएको थियो ।

उपाधिसँगै पुलिसले १ लाख ५० हजार प्राप्त गर्दा उपविजेता बनेको एपीएफले ७५ हजार प्राप्त गर्यो ।

यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी नेपाल पुलिसकी उषा भण्डारी घोषित भईन । उनले त्यसबाफत नगद २० हजार प्राप्त गरिन् ।

यस्तै एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै हिरा केसी उत्कृष्ट ब्लकर, न्यु डाईमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर र नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भईन्। यी सबैले जनही ५-५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्