नेपाल पहिलो पटक एसियन च्याम्पियनसिपमा छ्नोट

नेपाल पहिलो पटक एसियन च्याम्पियनसिपमा छ्नोट

काठमाडौं (अनलाइन खेल खबर ) । अगस्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म चीनमा हुने एसियन च्याम्पियनसिपमा नेपाली महिला भलिबल टोलीले सहभागिता जनाउने पक्का भएको छ ।

एसियन भलिबल महासंघ (एभीसी)को बैठकले चीनको गोन्जाओमा हुने यस प्रतियोगितामा नेपाललाई पनि सहभागिता जनाउने दिने निर्णय गरेसँगै नेपालले अहिलेसम्मकै ठूलो भलिबल प्रतियोगिता खेल्ने पक्का भएको हो ।

पछिल्लो समय नेपाली महिला भलिबलले देखाएको सम्भावनालाई मध्य नजर गर्दै यसपटक नेपाल भलिबल संघले पनि आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गर्दै गर्दा एसियन भलिबल महासंघले नेपाललाई पनि सहभागिता जनाउन दिने निर्णय गरेको छ ।

प्रतियोगितामा आयोजक चीनसहित कुल १६ टिमको सहभागिता रहने छ । कोभिड-१९ को अवस्थालाई हेरेर एभीसीले प्रतियोगिता हुनु दुई महिना अघि खेल हुने नहुने विषयमा पक्का गर्ने बताएको छ ।

यता गत वर्ष महिला भलिबलले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जितेको थियो । जुन नेपालका लागि अहिलेसम्मकै एतिहासिक पदक समेत रहेको थियो ।

त्यसपछि नेपालले स्वदेशमै दक्षिण एसियायी खेलकुद (साग ) खेल्यो । जसमा नेपालीले पहिलो पटक फाइनल सम्मको यात्रा तय गरेको थियो । फाइनलमा नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो ।

यसरी अघिल्लो वर्ष नेपाली महिला भलिबल टोलीले देखाएको प्रदर्शनलाई मुल्यांकन गर्दै नेपाल पहिलो पटक एसियन च्याम्पियनसिपमा छ्नोट भएको हो ।