
न्यू डायमन्ड र पुलिस सेमिफाइनलमा
काठमाडौं ( अनलाइन खेलखबर ) । काठमाडौंमा जारी होङ्ग्वान्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्ड र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छ्न ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा न्यू डायमण्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै समूह चरणको एक खेल बाँकी छदै सेमिफाइनल पुग्न सफल भएका छ्न ।
समूह ‘बी’ मा रहेका पुलिस र न्यू डायमण्डको नजिताले समूह विजेता र उप विजेताको टुंगो लाग्नेछ ।
यी दुई टोलीबीच बुधबार चौथो सेटमा पुगेर वर्षाका कारण खेल रद्द भएको थियो ।
पुलिसले ढोरपाटनमाथि जित हासिल गर्ने क्रममा २५–१२, २७–२५ र २५–१० को सोझो सेटमा पराजित गरेको थियो ।
यस्तै डायमण्डले पनि ढोरपाटनलाई पराजित गर्ने क्रममा २५–५,२५–१२ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो ।
बिहीबारनै त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६ र २५–७ को सोझो सेटमा पराजित गरेको थियो ।
समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो । यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो ।
आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो । बिहीबारको लागि तय भएको आर्मी र एपीएफबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।
पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि दोस्रो सेट वर्षाका कारण शुरु नै हुन सकेन ।
प्रतियोगितामा शुक्रबार तीन खेल हुनेछ । पहिलो खेलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लब, दोस्रो खेलमा एपीएफ र पारामाउन्ट तथा तेस्रो खेलमा आर्मी र एपीएफबीच खेल हुनेछ ।
होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।
भने उप – विजेताले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रोस्थानमा रहने टिमले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।
यता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।