आईओएफटीसीमा नेपाललाई चार स्वर्ण प्राप्त

आईओएफटीसीमा नेपाललाई चार स्वर्ण प्राप्त

काठमाडौं ( अनलाइन खेलखबर )। अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिप अन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्य पदक जित्न सफल भएको छ   ।

जस अन्तर्गत नेपालका  लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक पदक दिलाए  । अघिल्लो वर्ष मंसीरमा नेपालमा भएको  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

३० वर्षको विधामा कमल पहिलो बने । जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले कास्य  पदक हात पारे । जित र प्रेम १३ औं सागका कास्य  विजेता हुन् ।

महिला ३० वर्षको इभेन्टमा पार्वतीले स्वर्ण पदक हात पारिन   । सो इभेन्टमा नेपालकी सजिंला तिमल्सिनाले कास्य  पदक जितिन् । यसैगरी, ७ वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते । सो विधामा निकुन प्रतिद्वन्द्वीविहीन थिए । यस्तै  महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन् । पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कास्य  पदक हात पारे ।

एघार वर्षमुनिको इभेन्ट अन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कास्य  पदक प्राप्त गरे । महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामाले कास्य पदक  हात पार्दा १७ वर्षमुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कास्य  पदक प्राप्त गरे  । ४० वर्षको उमेरसमूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कास्य  पदक  जितिन् भने ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बोहराले कास्य  पदक जितेका थिए  । ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे ।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो । नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीहरुको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिा आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *