तेक्वान्दो खेलाडीलाई आठ लाख सहयोग
काठमाडौंं(अनलाइन खेलखबर) । अमेरिकास्थित पोर्टल्यान्डमा मुख्य कार्यलय रहेको गैर नाफामुलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी आईओएफटीसीले ८ लाख रुपैयाँ अमेरिकाबाट नेपाल पठाएको हो ।
जसका लागि समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ ।
जसको सदस्यमा रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम रहेका छन् । सल्लाहकारमा मैत्री तेक्वान्दो डोजाङका प्रमुख अष्टबहादुर महर्जन रहेका छन् ।
आईतबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले टिमका संयोजक ब्यञ्जनकारलाई प्राप्त सहयोग रकम चेकमार्फत हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण प्रश्चात मन्त्री विश्वकर्माले आईओएफटीसीले गरेको सहयोगले केहि हदसम्म भएपनि खेलाडीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
यसअघि आईओएफटीसीले २०७२ सालको विनाशकारी भुकम्प पीडितलाई पनि सहयोग गरेको थियो ।