टेबल टेनिस खेलाडीको कोरोना बीमा गरिने
काठमाडौं (अनलाइन खेल खबर ) । अखिल नेपाल टेबल टेनिस संघले राष्ट्रिय टेबल टेनिस खेलाडीहरुको कोरोना भाइरस(कोभिड-१९ ) को बीमा गरिदिने भएको छ ।
संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार पुरुष र महिलामा शीर्ष १६ भित्र रहेका खेलाडीको बीमा गर्न लागिएको छ ।
यस्तै संघले खेलाडीसँगै केन्द्रिय कार्यसमितिमा रहेका सम्पूर्ण पदाधिकारी , प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बीमा गर्ने जनाएको छ ।
सबैको जनही १ लाखका दरले बीमा गरिने छ । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा अबको २-३ दिन भित्रै बीमा गरिने संघले उल्लेख गरेको छ ।