पल्सर स्पोर्ट्स अवार्ड आज

पल्सर स्पोर्ट्स अवार्ड आज

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ) ले प्रदान गर्दै आएको नेपालको प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड आज मंगलबार हुँदैछ ।

फाइल फोटो – अघिल्लो वर्षको पल्सर स्पोर्ट्स अवार्ड

कोरोना भाइरस ( कोभिड-१९ ) का कारण यसपटक अलिकती फरक शैलीमा अवार्ड आयोजना हुनेछ । जसलाई सेमि भर्चुअल तरिकाले सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा अपराह्न साढे ४ बजेपछि सुरु हुनेछ ।

यसपटक पनि अघिल्लो वर्षको जस्तै १० विधाका खेलाडी तथा खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । जस अन्तर्गत वर्षका उत्कृष्ट पुरुष- महिला, युवा खेलाडी, पिपुल्स च्वाइस , उत्कृष्ट प्रशिक्षक , लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दि इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान रहेको छ ।

अवार्डका लागि वर्षका उत्कृष्ट पुरुष- महिला, युवा खेलाडी, पिपुल्स च्वाइस र प्रशिक्षकमा ५–५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ।

जसअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, कराँतेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्।

वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ पर्दा वर्ष महिला खेलाडीतर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयमा परेका छन्।

यस्तै वर्ष युवा खेलाडीको मनोनयममा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामांग, जुडेकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ परेका छन्।

वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।

उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकमा विजयीले एक- एक वटा पल्सर मोटरसाइकल पाउनेछन्। भने अन्य विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

अवार्डलाई यसपटक विभिन्न माध्यमबाट हेर्न सकिने ब्यबस्था मिलाईएको छ । जसमा ४ वटा टेलिभिजन एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पार्टस एचडीले प्रत्यक्ष प्रसारण गर्नेछन्।

यस्तै एनएसजेएफको युटुब ,मिडिया हब लगायत विभिन्न सञ्चारमाध्यमका डिजिटल माध्यमबाट हेर्न सकिने छ ।