onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पल्सर स्पोर्ट्स अवार्डमा डिश मिडिया नेटवर्क मुख्य सह प्रायोजकको रुपमा जोडियो

काठमाडौं (अनलाइन खेल खबर ) । पुस २८ गते काठमाडौंमा हुने १७ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेटवर्क लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको छ ।

मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

मुख्य सह–प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरी कुल ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्ने भएको छ । जसमा ४ लाख बराबरको जिन्सी र बाँकी नगद हुनेछ ।

जिन्सी अनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्ज सहितको सेवा उपलब्ध गराउनेछ ।

यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थान सेट–अप बक्स दुई वर्षको रिचार्ज सहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता पछि मञ्चका महासचिव ओलीले कठिन अवस्थामा हुन लागेको अवार्ड कार्यक्रममा डिस होमले गरेको प्रायोजनका लागि धन्यबाद ब्यक्त गरेका थिए ।

यस्तै डिश मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफु जोडिन पाउँदा खुसी लागेको बताए ।

यता अवार्डअन्तर्गत गत हप्ता मात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो । जसमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिनाश्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजीश्रेष्ठ मनोनयनमा परेका छन् ।

यस्तै यस वर्ष पनि अघिल्लो वर्षझैं कुल १० विधामा अवार्ड प्रदान गरिने छ । जसअन्तर्गत पिपल्स च्वाइस अवार्डसँगै वर्ष उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट , टिम अफ द इयर र ईन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्