राखेपका सदस्य कुँवर दुःखीको सहयोगमा सक्रिय

राखेपका सदस्य कुँवर दुःखीको सहयोगमा सक्रिय

काठमाडौं (अनलाइन खेलखबर ) । हाल विश्वभर महामारीको रुपमा देखा परिरहेको स्वास्थ्य संकट कोरना भाइरस (कोभिड -१९ ) बाट हाम्रो देश पनि अछुतो रहेको छैन ।

यस्तोमा नेपाल सरकारद्वारा भाइरसको नियन्त्रण तथा रोकथाम गर्न अहिले मुलुकभर लकडाउन जारी राखेको छ । यो अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा अहिले राष्ट्रिय खेलकुद परिषद्( राखेप ) का सदस्य एकेन्द्र कुँवर सक्रिय भईरहेका छन् ।

लकडाउन लागू भएपछिनै दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुर, आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्गका परिवारलगायतलाई निजी खर्चमा राहत स्वरुप खाद्यान्न वितरण गर्ने कार्यमा सदस्य कुँवर अघि सरेका छन् ।

बिहीबार सदस्य कुँवरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १ सय १० परिवारलाई राहत वितरण गरे । उनले आवश्यक परे आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘विश्वव्यापी यो असहज स्थितिको चाँदै अन्त्य होस् भन्ने कामना गर्न चाहन्छु । कसैले पनि यस्तो स्थितिको सामना गर्नु नपरोस् । तर, परि आएको खण्डमा सक्दो सहयोग गर्न पछि हट्दिन’– सदस्य कुँवरले भने ।

यस्तै उनले यसअघि कीर्तिपुरका दृष्टिविहीन, काठमाडौंका विभिन्न मठ मन्दिरका साधु सन्त, विरामी कुरुवा, मजदुर, अपाङ, सरसफाइमा खटिएका कर्मचारी, भारतीय मजदुर, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।

अध्ययनका लागि काठमाडौंमा रहेका सुदूरपश्चिम प्रदेशका कैयौं विद्यार्थीलाई उनले राहत उपलब्ध गराए । कुँवर सुदूरपश्चिमको अछाम जिल्ला निवासी हुन् ।

गत चैत १२ गते सुदूरपश्चिममा पहिलो कोरोना भाइरस संक्रमित भेटिएपछि संकलन गरिएको अन्य सम्भावित ७० जना भन्दा बढीको स्वाब जोखिम मोलेर आफ्नै गाडीमा परिक्षणका लागि काठमाडौं ल्याएका थिए ।

उनले लक्षित वर्गलाई वितरण गर्न केहि संस्थालाई आर्थिक र खाद्य सामाग्री पनि प्रदान गरेका थिए । राहत सामाग्री वितरण गर्दा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले लक्षित वर्ग बस्ने घरमै गएर कुँवरले राहत वितरण गर्दै आएका छन् ।

उनले गृह जिल्ला अछामको बेयलपाटास्थित न्याय हेल्थ नेपाललाई स्वास्थ्य मन्त्रालयको सहकार्यमा स्वास्थ्य सामाग्री दिने तयारी पनि गरिरहेको जानकारी गराए । उनका अनुसार १० थान ज्वोरो नाप्ने थर्मगन, १ सय थान केएन ९५ मास्क, १ सय थान पीपीई सेट, १० हजार थान सर्जिकल मास्क, १० हजार थान पन्जा र २ सय लिटर सेनिटाइजर न्याय हेल्थ नेपाललाई उपलब्ध गराइने छ । यी सामाग्री पनि कुँवरले आफ्नै खर्चमा उपलब्ध गराउन लागेका हुन् । सामाग्री दिन कुँवर सोमबार काठमाडौंबाट अछाम जाँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *