तेक्वान्दोले दिलायो नेपाललाई ७ स्वर्ण : नेपालको पदक सङ्ख्या ३० पुग्यो
काठमाण्डौ ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्फ नेपालले कुल ७ स्वर्ण जित्न सफल भएको छ ।
मंगलबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले कुल ७ स्वर्ण जित्न सफल भएको छ ।
बाकीमा श्रीलंकाले ३ तथा भारतले २ र बंगलादेशले १ स्वर्ण जित्न सफल भए ।
नेपालले जितेको ७ स्वर्ण मध्ये आयषा शाक्यले दुई स्वर्ण आफ्नो नाममा लेखाउन सफल भईन । भने पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले पनि स्वर्ण जित्न सफल भए ।
यस्तै नेपालले महिला टिम पुम्सेतर्फ १७–२९ वर्षउमेर समूहमा पनि स्वर्ण जितेको छ जसमा निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना रहेका थिए र २३ वर्षमाथि उमेरसमूहमा पनि नेपालले सफलता हात पार्ने क्रममा स्वर्ण जित्न सफल भयो यसमा निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राईले रहेका थिए ।
नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडीमा सञ्जीवकुमार ओझासँग मिलेर गरी दुई विधातर्फ २ स्वर्ण दिलाइन् ।
व्यक्तिगत विधातर्फ आयषाले ८.९४० र भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली(७.७५५०)ले र निसा महरुन(७.३६०) ले कांस्य पदक जितिन् ।
२९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडी (८.१६)ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६)लाई पछि पारेका थिए । यस विधामा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते ।
त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्फ पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए । सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन् । सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन् । यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन् ।
२३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन् । यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन् ।
सोही उमेर समूहमा नेपालका कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याए । भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए । यस विधामा श्रीलंका निसाकां जयसिंघे(८.१५) र बंगलशादेशका मेहदी हसन (८.०६०)ले कांस्य पदक जिते ।
१७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए । कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए । यस विधामा भारत लालथला मुइनपुई(८.१२०) र बंगलादेशका कमरुल इस्लाम(८.०९०) ले कांस्य पदक जितेका छन् ।
पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्मा(८.११०)ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०)लाई पराजित गरे । यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ्स (८.०३०) ले कांस्य पदक प्राप्त गरे । १७ देखि २३ वर्ष उमेरसमुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते ।
२३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए । यस विधामा श्रीलंकाकाले रजत प्राप्त गर्दा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते ।
हालसम्म नेपालले जारी सागमा आफ्नो पदक सङख्या ३० पुर्याएको छ । जसमा १५ स्वर्ण , २ रजत र १३ कास्य पदक रहेको छ ।
अब हेर्नुहोस सूचीमा स्वर्ण विजेतालाई
१. करातेतर्फ
एकल कातामा – मण्डेकाजी श्रेष्ठ
टिम काता, महिलामा – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
टिम काता ,पुरुषमा – निर्मला तामाङ, संगिता मगर, सरु कार्की
५५ केजीमा – लक्ष्मण तामाङ
कराते ८४ केजीमाथिमा -विप्लवलाल श्रेष्ठ
४५ केजीमुनीमा – कुसुम खड्का
५० केजी मूनिमा अनु अधिकारी
२. तेक्वान्दोतर्फ
पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
पुम्से १७ –२३ वर्षमा – सिना मादेन लिम्बु
पुम्से २३ –२९ वर्षमा – पार्वती गुरुङ
पुम्से २९ वर्ष माथि – आयशा शाक्य
पुम्से २९ वर्ष माथि – आयशा शाक्य र सञ्जिकुमार पाण्डे
पुम्से महिला टिमतर्फ १७–२३ वर्ष – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिमतर्फ २३–२९ वर्ष – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
३. ट्रायथलन – सोनी गुरुङ