सागको ओलम्पिक टर्च र्याली सुरु !
काठमाडौं ( अनलाइन खेलखबर ) | मंसिर १५ गतेदेखि नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन दिन दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको र्याली शुक्रबारदेखि सुरु भएको छ ।
नेपालका सातै प्रदेशका मुख्य शहरमा पुर्याईने टर्चको र्याली शुक्रबार स्वयम्भु स्टुपादेखि सुरु गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्यालि सुरु भएको थियो ।
टर्च लिएपछि र्यालिमा सहभागी हुने ओलम्पियनहरुले स्वयम्भुको तीनपटक परिक्रमा गरेपछि स्वयम्भु हाताबाट र्यालिका लागि प्रस्थान गरेका थिए ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले र्यालीलाई व्यवस्थापन गर्दै टोली पहिलो दिन विराटनगर प्रस्थान गरेको थियो।
र्यालीमा सहभागी हुने ओलम्पियनहरुमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु तथा मुकुन्दहरि श्रेष्ठ छन् ।
अब विराटनगर पछि दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज पुर्याईने छ ।
भने छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ । आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ ।
सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टर्चबाट दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको छ ।