सागको ओलम्पिक टर्च सातै प्रदेशमा पुग्ने : सुभारम्भ शुक्रबारबाट हुने
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आउँदो १५ देखी २४ गतेसम्म हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याईने भएको छ ।
ओलम्पिक टर्च याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमको बारेमा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा गराईएको जानकारी अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भुमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्यालीको प्रारम्भ हुनेछ ।
टर्च सातै प्रदेशका मुख्य शहरमा पुर्याईने छ । पहिलो दिन प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने कार्यतालिका रहेको छ ।
आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।
र्यालिमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुने छन् ।