onlinekhelkhabar.com

Complete website for Nepali Sports News

काठमाडौंमा कोरोना सचेतना दौड सम्पन्न

काठमाडौं (अनलाइन खेलखबर ) । काठमाडौंमा कोरोना सचेतता दौड शनिबार सम्पन्न भएको छ ।

लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजना तथा बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा शनिबार भएको सचेतता दौडमा ३ महिलासहित कुल २५ जनाको प्रतिस्पर्धा गरेका थिए ।

बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस नाम दिइएको उक्त सचेतता दौडमा ६० वर्षमाथि उमेर समूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो भएका थिए ।

यस्तै महिला खुला समूहतर्फ याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो भएकी थिइन् । भने ४० देखि ५९ वर्ष उमेर समूहमा धर्म महर्जन पहिलो , भीमबहादुर गुरुङ दोस्रो र दीपककुमार रन्जितले तेस्रो भएका थिए ।

यता कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना भन्दा बढी भेला हुन नपाउने नेपाल सरकारको नियमलाई पालना गरी २५ जना मात्र सहभागी गराएर दौड सञ्चालन गरिएको पूर्व धावक समेत रहेका दौड संयोजक बुद्धवीर लामाले जानकारी गराए ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुका साथै कोरोना भाइरसका दौरान कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको संयोजक लामाको जिकिर रहेको थियो ।

दौडका दौरान सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौ र स्वास्थ्य रहौं’ र ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौ’ भन्ने नारा लेखिएको सन्देशमुलक प्ले कार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए ।

सहभागी सबैले निर्धारित २५ किलोमिटर दूरी तय गर्न सफल भए । सहभागी मध्ये सबै भन्दा पाका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे ।

अन्य सहभागीमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एभरेष्ट म्याराथनकी तीन पटककी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका कास्य विजेता धर्म महर्जन , संयोजक बुद्धवीर लामालगायत रहेका थिए ।

कोरोना सचेतना दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयको मुल गेट बाहिरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो । दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *