onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा म्याराथन फागुन १ गते हुने

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुँदै आईरहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते हुने भएको छ ।

सोमबार पोखरामा भएको पत्रकार सम्मेलनमा आयोजक टिमले प्रतियोगिताको मिति घोषणा गरेको थियो ।

यसपटक म्याराथनमा महिलालाई पनि समावेश गरिएको छ । अब पुरुषततर्फ ४२.१९५ किलोमिटरको म्याराथन हुँदा महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको हो ।

पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए ।

उनले भने–“म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउन यसको भुमिका रहेको छ ।”

मञ्चले आगामी दिनमा आफ्ना भावी योजनाका साथ अघि वढेको बताउँदै उनले म्याराथन सँगै सामाजिक क्षेत्रमा समेत आफ्ना भावी कार्यक्रमहरु तय गरेको बताए ।

यस्तै पोखरा म्याराथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन ।

त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै ह्विल चियर महिला÷पुरुष तथा दृष्टिविहिन महिला- पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमश नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन । भने १० किलोमिटर महिला र पुरुष तर्फ विजेता खेलाडीले क्रमश: नगद रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र-छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्नेछन् ।

पोखराको प्रतिष्ठित औधोगिक संस्था सफल दुधको मुख्य प्रायोजनमा हुने १५ औं सस्करणको पोखरा म्यारथान सम्पन्न गर्न करिव ५१ लाख खर्च हुने मञ्चले जनाएको छ ।

पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, गैर आवासिय नेपाली संघ युके, गैर आवासिय नेपाली संघ हङकङ लगाएत अन्य उद्योग तथा व्यवसायीले सहयोग गर्ने छन। भने नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्नेछ ।

पोखरा म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्