आईपीएलमा दिल्लीको लगातार दोस्रो जित

आईपीएलमा दिल्लीको लगातार दोस्रो जित

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल ) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

दिल्लीले लगातार दोस्रो जित निकाल्ने क्रममा शुक्रबार राति चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको छ ।

खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ७६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको चेन्नई निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ३१ रनमा सिमित हुन् पुगेपछि खेल दिल्लीले आफ्नो पक्षमा पार्न सफल भयो ।

ब्याटिङमा चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ठूलो योगदान गरे । ३५ बलको सामना गरेका उनले ४ चौकासहित ४३ रन बनाए ।

यस्तै टिमका लागि केदार जाधवले २६ तथा कप्तान महेन्द्र सिंह धोनीले १५ रन र रविन्द्र जडेजाले १२ रन बनाउँदा ओपनरद्वय विजयी मुरली र शेन वाटसनले क्रमशः १० र १४ रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले ३ तथा आनिच नोर्त्जेले २ तथा एक्सर पटेलले १ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरा खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनरद्वर पृथ्वी शा र शिखर धवनले ठोस सुरुवात दिलाएका थिए । यी दुईबीच ९४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

१०.४ ओभरमा पीयूष चावलाको बलमा एलबिब्लुको सिकार हुन् पुगेका शिखरले ३५ रन बनाए । धवन आउट भएपछि अर्का ओपनर शा पनि दोस्रो विकेटका रुपमा आउट हुन् पुगे ।

४३ बलको सामना गरेका उनले ९ चौका र १ छ्क्कासहित ६४ रन बनाए । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनि पीयूष चावलाको बलमा विकेट किपर महेन्द्र सिंह धोनीको हातबाट क्याच हुन् पुगेका थिए ।

त्यसपछि साम कुर्रानको बलमा आउट हुनुअघि कप्तान श्रेयस अय्यरले २६ रन बनाए भने रिषभ पन्त र मार्कस स्टोइनिस अविजित रहदै क्रमशः ३७ र ५ रन बनाउन सफल भएका थिए ।

यो जितसँगै दिल्ली अंकतालिकामा ४ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । यसअघि दिल्लीले पहिलो खेलमा पन्जावलाई सुपर ओभरमा पराजित गरेको थियो । यता दिल्लीसँग पराजित हुन् पुगेको चेन्नईको यो दोस्रो हार हो ।

यसअघि चेन्नईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित हुन् पुगेको थियो । र अहिलेसम्म ३ खेल खेलेको चेन्नई २ अंकका साथ अहिले अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

यता प्रतियोगिता अन्तर्गत आज शनिबार कोलकता र हैदराबादबीच प्रतिष्पर्दा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे आबुधाबिमा हुनेछ ।