आईपीएलमा बेंगलोरको विजयी सुरुवात

आईपीएलमा बेंगलोरको विजयी सुरुवात

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ ।

सोमबार राति भएको खेलमा बेंगलोरले जित हासिल गर्ने क्रममा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ ।

खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ६४ रनको प्रतिस्पर्दात्मक विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको हैदराबाद १९.४ ओभरमा अलआउट हुँदै १ सय ५३ रनमा सिमित हुन् पुगेपछि खेल बेंगलोरले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

उसका लागि ओपनर विकेट किपर ब्याट्सम्यान जोनी बेयरस्टोले सर्वाधिक ठूलो पारी खेलेका थिए । तेस्रो विकेटको रुपमा पभेलियन फर्किएका उनले ४३ बलको सामना गर्दै ६ चौका र २ छ्क्कासहित ६१ रनको योगदान गरेका थिए ।

बेयरस्टो अघि कप्तान डेविट वार्नर ६ रन र मनिष पाण्डे ३४ रन बनाएर आउट हुन् पुगेका थिए ।

त्यसपछि हैदराबादका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा टिम पहिलो खेलमानै पराजित हुन् पुगेको छ ।

बलिङतर्फ बेंगलोरका युजवेंद्र चहलले ३ तथा नभदिप सैनी र शिभव दुबेले समान २/२ विकेट लिएका थिए । भने स्टेनले पनि १ विकेट हात पारेका थिए ।

त्यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

विराट कोहलीको कप्तानीमा रहेको बेंगलोरले उक्त रन बनाउने क्रममा सुरुवातबाटै राम्रो ब्याटिङ गरेको थियो ।

टिमका लागि ठोस सुरुवात दिलाउने क्रममा बेंगलोरका ओपनरद्वय एरोन फिंच र देवदत्त पडिक्कलले ९० रनको ओपनिङ साझेदारी गरेका थिए ।

११ औं ओभरको अन्तिम बलमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका देवदत्तले अर्धशतकीय पारी खेले । ४२ बलको सामना गरेका उनले विजय सङ्खरको बलमा आउट हुनुअधि ८ चौका प्रहार गरे ।

देवदत्त आउट भएपछि अर्को बलमा अर्का ओपनर आरोन फिन्च पनि आउट हुन् पुगे । २७ बलको सामना गरेका उनले १ चौका र २ छ्क्कासहित २९ रनको योगदान गरे ।

ओपनरहरुले इनिङलाई राम्रो स्थितिमा पुर्याएर छोडेपछि त्यसलाई निरन्तरता दिन कप्तान विराट कोहली तेस्रो नम्बरमा ब्याटिङ गर्न आए । उनिबाट सदाझै टिमले ठूलो आशा पनि गरेको थियो । तर उनि सिजनको पहिलो खेलमानै असफल हुन् पुगे । उनले मात्र १४ रन जोडे ।

त्यसपछि बेंगलोरको पारीलाई एबी डिविलियर्सले अगाडी बढाए । जस अन्तर्गत उनले ५१ रनको योगदान समेत गरे । उनले उक्त रन बनाउने क्रममा ३० बलको सामना गर्दै ४ चौका र २ छ्क्कासमेत प्रहार गरे ।

बलिङतर्फ हैदराबादका विजय सङ्खर,अभिषेक शर्मा र नटराजनले समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत मंगलबार राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुनेछ ।