onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीलाई

काठमाडौं । बाह्रखरी मिडिया प्रालिको आयोजनामा पोखरामा भएको बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् ।

पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित ट्रफी प्राप्त गरे ।
यस्तै कार्कीका निकटतम प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए । जसमध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

यस्तै प्रतियोगिताको बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए ।

महिलातर्फको प्रतिस्पर्धामा रेखा घिमिरे २३ अंक प्राप्त गर्दै विजयी बनिन् । जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको प्रतिस्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भएका थिए ।

पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारे । त्यस्तै क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधि जिते । क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे ।

नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले उद्घाटन गरेको प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो ।

जसमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सैलेन्द्र खनाल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेत्री मनिषा कोइराला, मिस नेपाल नम्रता श्रेष्ठले पनि विजयी खेलाडीहरुलाई सम्मान गरेका थिए ।

समापन समारोहमा मुख्य मन्त्री गुरुङले प्रतियोगिताले पोखरामा आफूहरुलाई पर्यटकको सम्भावनालाई उत्कृष्ट बनाउन सफल भएको बताएका थिए । साथै बाह्रखरीले पोखराको पर्यटनमा नयाँ आयाम दिएको धारणा व्यक्त गरेका थिए।

त्यस्तै पर्यटन मन्त्री भानुभक्त ढकालले बाह्रखरी गल्फले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न भूमिका खेलेको धारणा राख्दा बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले गल्फ प्रतियोगिता आयोजना गर्न प्रमुख प्रायोजक एनसेलसहित अन्य सहयोगी कर्पाेरेट संस्थाहरुलाई धन्यवाद दिएका थिए ।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नै पोखरामा गल्फ प्रतियोगिता आयोजना गरिएको भन्दै उनले यसले पोखरासहित नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्