onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोना फेरि पहिलो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भालाडोलिडमाथि शानदार जित हासिल गरेको छ ।

गएराति बार्साको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ गोल गर्दा लुइस स्वारेज, क्लेमेट लेन्ग्लेट र अर्टुरो भिदालले एक एक गोल गरेका थिए भने भालाडोलिडका किको ओलिभासले एक गोल फर्काएका थिए ।

खेलमा बार्सीलोनाका लेन्ग्लेटले खेलको दोस्रो मिनेटमै पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि बार्साको अग्रता खेलको १५ औं मिनेटमा गएर टुटयो ।

भालाडोलिडका किकोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर त्यसपछि भने बार्सीलोना अझ हाबी हुने क्रममा थप ४ गोल थप्यो ।

खेलको २९ औं मिनेटमा भिदालले टिमका लागि दोस्रो गोल गर्दा कप्तान लियोनल मेस्सीले ३४ औं मिनेटमा तेस्रो तथा ब्यक्तिगत पहिलो गोल गर्दा पहिलो हाफको समाप्तीमा बार्सिलोनाले ३-१ को अग्रता बनायो ।

र खेलमा बार्सीलोनाले दोस्रो हाफमा पनि थप २ गोल थप्दा भालाडोलिड समग्रमा ५-१ ले निराश हुन पुग्यो । खेलको ७५ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा लुईस स्वारेजले खेलको ७७ औं मिनेटमा पाँचौ गोल गरेका थिए ।

योसँगै बार्सीलोना अंकतालिकाको पहिलो स्थानमा फेरि उक्लिएको छ । १० खेल खेलेको बार्सिलोना ७ खेलमा जित , एक खेलमा बराबरी तथा दुई खेलमा हार ब्यहोर्दै २२ अंकसाथ अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

भने पराजित भालाडोलिड ११ खेलबाट १४ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्