रियलको अपराजित यात्रा कायमै
असोज १९ , अनलाइन खेलखबर || स्पेनिस लिग ला लिगामा रियल मड्रिडले ग्रानडालाई ४-२ गोल अन्तरले पराजित गर्न सफल भएको छ ।
शनिवार रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा रियलले खेलको दोस्रो मिनेटमै अग्रता बनाएको थियो । रियलका लागि करिम बेन्जामाले पहिलो गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफको अन्तिम समयमा रियलले अर्को गोल थप्यो । टिमका लागि एडेन हाजार्डले दोस्रो गोल गरेका थिए ।
पहिलो हाफको समाप्तीमा २-० को अग्रता बनाएको रियलले ६१ औं मिनेटमा थप एक गोल थप्दै ३-० को अग्रता बनायो । तेस्रो गोल लुका मोड्रिकले गरेका थिए ।
३-० ले पछि परेको अबस्थामा खेलको ६९ औ मिनेटमा ग्रानडाका डार्विन माचिसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-१ मा ल्याए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा ग्रानडाका डोमिंगोस डुटर्टेले गोल गरेपछी खेल अझ रोचक बनेको थियो ।
तर, खेलको अन्त्यतिर रियलका लागि जेम्स रोड्रिजले गोल गर्दै रियललाई ४-२ को जित दिलाउन सफल भए ।
यो जितसँगै ८ खेलबाट ५ मा जित र ३ बराबरी खेल्दै रियलले १८ अंकसहित अहिले पनि अंकतालिकाको शिर्षस्थानमा रहेको छ ।