
ब्रेसियालाई पराजित गर्दै नापोली अंकतालिकामा चौथो स्थानमा उक्लियो
असोज १३ , अनलाइन खेलखबर || इटालियन लिग सिरी ‘ए’ फुटबलमा नापोलीले ब्रेसियालाई पराजित गरेको छ ।
गएराती राति भएको खेलमा नापोलीले ब्रेसियामाथि जित हासिल गर्ने क्रममा २-१ गोल अन्तरले निराश बनाएको हो ।
नापोलीको घरेलु मैदानमा भएको प्रतिष्पर्दात्मक खेलमा नापोलीलाई जित दिलाउन ड्रिएस मेर्टेन्स र कोस्टास मोनालासले एक एक गोल गरेका थिए भने ब्रेसियाको तर्फबाट एक मात्र गोल मारियो बालोटेलीले गरेका थिए ।
खेलको १३ औं मिनेटमा नापोलीका लागि ड्रिएस मेर्टेन्सले गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफको अन्तिम समय तिर कोस्टास मोनालासले गोल गर्दै नापोलीलाई २-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफभित्र २-० ले अग्रता बनाएको नापोलीले ६७ औं मिनेटमा एक गोल खायो । ब्रेसियाको तर्फबाट उक्त गोल मारियो बालोटेलीले गरेका थिए ।
जितसँगै नापोली लिगको ६ खेलबाट ४ मा जित २ मा हार ब्यहोर्दै १२ अंक सहित अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । समान ६ खेलबाट ६ अंक जोडेको ब्रेसिया १४ औं स्थानमा रहेको छ ।
यता इटालियन सिरी ‘ए’ अन्तर्गत नै आईतवार राती भएको खेलमा एसी मिलान फियोरेन्टिनासँग ३-१ ले पराजित भएको हो ।