नेपाललाई सान्त्वना जित
असोज ५ , अनलाइन खेलखबर || जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।
आईतवार आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्त्य गरेको छ ।
यसअघि जोर्डन र ताजकिस्तानसँग पराजित र कुबेतसँग बराबरी खेलेको नेपाल श्रीलंकाबिरुद्द भने राम्रो प्रदंशन गर्ने क्रममा ३ गोल गर्न सफल भयो ।
जोर्डनस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउँन मोहित गुरुङ, अनिल चौलागाई र जान लिम्बुले १/१ गोल गरेका थिए ।
नेपालले खेलको ३६ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता कायम गरेको थियो । नेपाललाई सुरुवाती अग्रता दिने क्रममा मोहित गुरुङले गोल गरेका थिए ।
पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले थप दुई गरेको थियो । खेलको ६४ औं मिनेटमा अनिल र ८९ औं मिनेटमा कप्तान जान लिम्बुले गोल गर्न सफल भएका थिए ।
यो सँगै नेपाल कुल ५ टिमको सहभागिता रहेको प्रतियोगितामा चौथोस्थानमा रह्दै प्रतियोगितालाई समापन गरेको छ । भने श्रीलंका अन्तिम स्थानमा रहयो ।