भुटानबिरुद्दको खेलमा नेपालको अग्रता
भदौ १२ , अनलाइन खेलखबर ।। भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले अहिले लिगको अन्तिम खेलमा भुटानको सामना गरिरहेको छ ।
भारतको कल्याणी मैदानमा जारी खेलमा नेपालले भुटानबिरुद्द पहिलो हाफमै २-० को अग्रता बनाईसकेको छ ।
तुलनात्मक नेपालभन्दा कमजोर भुटानबिरुद्द नेपालले खेलको पाँचौ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । नेपाललाई सुरुवाती अग्रता दिलाउँने क्रममा नेपालका प्रदिप लम्सालले उत्कृष्ट गोल गरेका थिए ।
पहिलो गोल गरेको ४ मिनेटभित्रै नेपालले फेरी अर्को गोल गर्न सफल भयो । नेपालका लागि दोस्रो गोल निराजन खत्रीले गरेका थिए ।
यसपछीको समयमा नेपालले आक्रामक खेलेपनि गोल गर्न भने सकेन र पहिलो हाफको समाप्तीमा नेपालले २-० को अग्रता कायम गरेको छ ।
मंगलबार साविकको विजेतासमेत रहेको बलियो टोली बङ्लादेशलाई ४-१ ले पराजित गरेसँगै नेपाल अहिले ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
भने बङ्लादेश पनि समान अंकभएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको हुँदा नेपालले अहिले जारी खेलमा भुटानलाई पराजित गरेको खण्डमा नेपाल फाइनल प्रबेश गर्नेछ ।
यदि यो खेलपछी हुने बङ्लादेश र भारतबीचको खेलमा बङलादेशले भारतलाई ठूलो अन्तरले पराजित गरेको खण्डमा भने बङलादेश प्रवेश गर्नेछ जुन कुराको सम्भावना निकै कम छ । बलियो भारतबिरुद्ध बङ्लादेशलाई त्यति सहज पक्कै हुनेछैन ।
यसअर्थमा नेपालको फाइनल पुग्ने सम्भावना निकै बलियो रहेको छ । भुटानबिरुद्द नेपालले जित्ने मात्र होईन निकै राम्रो प्रदशन गर्ने बिश्वास लिईएको छ ।
जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको थियो भने यसपछि लयमा फर्किने क्रममा नेपालले श्रीलंकालाई २-० ले र अघिल्लो खेलमा बङलादेशलाई ४-१ ले पराजित गरिसकेको अवस्था छ ।