यु -१५ साफ फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दै
भदौ १० , अनलाइन खेलखबर ।। भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल अन्तर्गत बंगलादेशको सामना गर्दैछ ।
फाइनल पुग्ने सम्भावना लाई अझ बलियो बनाउन नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । यसअघि भएको २ खेलमा १ मा जित र १ मा हार व्यहोरेको नेपाल अहिले अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।
नेपाल पहिलो खेलमा आयोजक भारतसँग ठुलो अन्तरले पराजित हुने क्रममा ५-० ले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलकालाई नेपालले २-० ले पराजित गरेको थियो ।
आज भारतको कल्याणीमा नेपाली समय अनुसार दिउसो ३:१५ बजेपछि हुने खेलमा दुबै टिम स्पष्ट जितको खोजीमा रहनेछन । बंगलादेश पनि यसअघिका दुई खेलमा जित निकालेको हुदाँ बलियो मनोबलमा रहेको छ ।
यसपछि नेपालले बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित भारत , बंगलादेश , श्रीलंका र भुटान रहेका छन् ।
राउण्ड रोविनको आधारमा संचालन भईरहेको प्रतियोगिताको अंकतालिकामा शिर्षस्थान रहने दुई टिमले फाइनल खेल्नेछ ।