साफको उप-विजेता नेपाली टोलीलाई सरकारले जनही पाँच लाख दिने

साफको उप-विजेता नेपाली टोलीलाई सरकारले जनही पाँच लाख दिने

काठमाडौं (अनलाइन खेल खबर) । माल्दिभ्समा भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उप-विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्री मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीलाई जनही पाँच लाखसहित सम्मान गर्ने निर्णय गरेको छ । यस्तै प्रशिक्षकले तीन लाख पाउँने छन् ।

नेपाली टोली सोमबार बिहाननै स्वदेश फर्किसकेको छ । साफको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाली टोलीलाई स्वागत गर्न नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

स्वागतमा ब्यान्ड बाजासहित,पदाधिकारी,सुभचिन्तक तथा उल्लेख नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो ।

नेपाल फाइनलमा भारतसँग ३-० ले स्तब्ध हुन् पुगेको थियो । भारी वर्षासहित भएको उक्त खेलमा नेपालले भारतलाई पहिलो हाफमा गोल रहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा नेपालले तीन गोल खान पुग्दा साफको उपाधि उचाल्ने नेपालको सपना अझै अधुरोनै हुन् पुग्यो ।

भारत ,नेपाल ,बंगलादेश,श्रीलंका र माल्दिभ्सको मात्र सहभागिता रहेको यस संस्करणको साफमा नेपालले लिग चरणमा घरेलु टोली माल्दिभ्स र श्रीलंकालाई हराउँदा नेपाल भारतसँग १-० ले पराजित हुन् पुगेको थियो ।

यस्तै लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेपछी नेपाल अंकतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको थियो । भारत भने अपराजित रहँदै शीर्ष स्थानमा रहेर प्रतियोगिताको फाइनल पुगेको थियो ।