नेपाल इतिहास रच्नबाट चुक्यो : भारत आठौं पटक च्याम्पियन
काठमाडौं (अनलाइन खेल खबर ) । माल्दिभ्समा भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले उचालेको छ ।
शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन भएको हो । यो सँगै भारतले साफमा आठौं पटक उपाधि उचालेको छ ।
पहिलो पटक फाइनल खेलेको नेपालविरुद्ध भारतका लागि कप्तान सुनिल क्षेत्री , सुरेश सिंह वाङजाम र साहल अब्दुल सामदले एक -एक गोल गरेका थिए ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भारी वर्षासहित भएको खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले टिमलाई सुरुवाती अग्रता दिलाए ।
अनमार्क रहेका क्षेत्रीले खेलको ४९ औं मिनेटमा हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुनिलको गोल लगत्तै भारतले अर्को गोल थप्यो । यासिर मोहम्मदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट सुरेश सिंह वाङजामले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलमा २-० ले पछि परिरहेको अवस्थामा खेलको अत्य तिर भारतका साहल अब्दुल सामदले तेस्रो गर्दा नेपालले लज्जास्पद हार ब्यहोर्नुका साथै उपाधि उचाल्ने सपना अधुरोनै हुन् पुग्यो । यो सँगै २८ वर्षे साफको इतिहासमा भारतको दबदबा कायमै रह्यो । हालसम्म भारतले ८ पटक उपाधि उचाल्दा माल्दिभ्सले २ पटक, बंगलादेश,श्रीलंका र साफबाट बाहिरिसकेको अफगानिस्तानले एक -एक पटक उपाधि आफ्नो नाममा लेखाएका छन् ।