onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्ने प्रयास भयो : प्रशिक्षक अब्दुल्लाह

काठमाडौं (अनलाइन खेल खबर ) । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टेक्निकल एरियामा बस्न नपाउँने भएका छन् ।

फाइनलमा नेपालले शनिबार नेपाली समय अनुसार राती पौने ९ बजे भारतको सामना गर्दैछ । यस्तोमा नेपालका प्रशिक्षकलाई दक्षिण एसियाली फुटबल महासंघले अमान्य नियम लगाउँदै अनुमति नदिने बताएको छ ।

महासंघका अनुसार अब्दुल्लाहले लिग चरणमा दुई पहँलो कार्ड खाएको भन्दै उनलाई खेलमा अनुमती नदिने निर्णय गरेको छ । भारतका प्रशिक्षक इगोर स्टिमेक भने यसअघि रातो कार्ड खाएको हुँदा टेक्निकल एरियामा बस्न पाउँने छैनन् । उनले माल्दिभ्सविरुद्धको खेलमा उक्त कार्ड प्राप्त गरेका थिए ।
साफको आंचार संहितामा यस बारेमा स्पष्ट भने उल्लेख गरिएको छैन । खेलाडीको हकमा लगातार दुई पहेँलो कार्ड प्राप्त गरे अर्को खेल गुमाउने छन् । तर प्रशिक्षकको बारेमा आंचार संहितामा यस बारेमा कुनै उल्लेख्य छैन । छ त केवल रातो कार्ड प्राप्त गर्नेलाई । यसबीचमा नेपालका प्रशिक्षक अब्दुल्लाहले महासंघको यो निर्णयमा आपत्ती जनाएका छन् ।

शनिबार भएको भर्चुअल प्रेस कन्फरेन्समा ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही हो ।’ उनको यस्तो कथन रहेको थियो ।
उनले थप्दै भने `नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको पनि उनले आरोप लगाए ।´

यता अखिल नेपाल फुटबल संघ (एन्फा ) ले यस बारेमा एएफसी र साफसँग छ्लफल गर्ने प्रयास गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्