onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाललाई ऐतिहासिक सफलता : नेपाल पहिलो पटक साफको फाइनलमा

काठमाडौं (अनलाइन खेल खबर ) । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेसँगै साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपाललाई फाइनल पुग्न यो खेलमा कम्तिमा बराबरी भए पनि पुग्ने थियो । त्यसमा नेपाल सफल समेत हुन् पुग्यो ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशका लागि सुमन रेजा गोल गर्दा नेपालका लागि बराबरी गोल अन्जन विष्टले फर्काएका थिए ।

बल पोजिसनमा नेपाल अगाडी रहेपनि नेपालले सुरुवाती अवस्थामै गोल खान पुगेको थियो । खेलको नवौं मिनेटमा बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

सुरुवाती अवस्थामा गोल खाएपछि खेलमा फर्किन संघर्षरत नेपालले खेलको ८८ औं मिनेटमा बराबरी गोल फर्कायो । फर्वार्ड अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट मात्र बचाएनन् नेपाललाई पहिलो पटक साफको फाइनलमा पुर्याए ।

कुल ५ टोलीको सहभागिता रहेको यस संस्करणको साफमा नेपालले लिग चरणमा घरेलु टोली माल्दिभ्स र श्रीलंकालाई गराउँदा तेस्रो खेलमा भने भारतसँग १-० ले पराजित भएको थियो ।

अब फाइनलमा नेपालले भारत र माल्दिभ्स मध्य एक सँग खेल्नेछ । बुधबार रातिनै यी दुई बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्न खेलमा भारतलाई जितको आवस्यक रहँदा माल्दिभ्सलाई बराबरी पनि प्रयाप्त बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्