onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अर्जेन्टिना २८ वर्षपछि च्याम्पियन

एजेन्सी । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचालेको छ । पछिल्लोपटक सन् १९९३ को संस्करणमा विजेता बनेको अर्जेन्टिना लामो अन्तरालपछि फेरी च्याम्पियन बनेको हो ।

यो सँगै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि आफ्नो नाममा समेत लेखाउन सफल भएको छ । यसका साथै कोपा अमेरिकाको इतिहासमा सर्वाधिक विजेता बन्ने उरुग्वेको कीर्तिमानमा समेत बराबरी गरेको छ ।

उपाधिको खडेरी तोड्ने क्रममा अर्जेन्टिनाले आईतबार बिहान भएको फाइनल खेलमा ९ पटकको विजेता तथा डिफेन्डिङ च्याम्पियन ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्यो ।

ब्राजिलको रियो द जेनेरोस्थित मैराकाना स्टेडियममा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा अर्जेन्टिनाका लागि एंजेल डि मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा रोड्रिगोको पासमा उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफ भित्र १-० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको भएपनि गोल गर्न भने सकेन् र अन्ततः साविकको विजेता ब्राजिल उप – विजेतामै चित्त बुझाउन बाध्य भयो ।

यता कोपा अमेरिकामा कीर्तिमानी विजेता बनेको अर्जेन्टिना र टिमका सर्वोत्तम खेलाडी लियोनेल मेस्सीका लागि पनि सुखद बन्न पुगेको छ । हाल विश्व फुटबलका महान खेलाडीका रुपमा परिचित मेस्सीको लागि पनि यो पहिलो उपाधि हो । यसअघि मेस्सी सम्मलित टिम ३ पटक कोपा र एकपटक विश्वकपको फाइनलमा स्तब्ध हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्