onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्ड पहिलो पटक फाइनलमा

एजेन्सी । इंग्ल्यान्ड युरोकपको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको छ । युरोमा हालसम्मकै उच्च सफलता हात पार्ने क्रममा इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई पराजित गरेको छ ।

इंग्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्यो । टिमलाई फाइनल पुर्याउने क्रममा निर्णायक गोल ह्यारी केनले गरेका थिए । भने एक गोल उपहार स्वरुप प्राप्त गरेको थियो । यस्तै डेनमार्कका लागि मिकेल डाम्सगार्डले एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा डेनमार्कले ३० औं मिनेटमा अग्रता कायम गरेको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा मिकेल डाम्सगार्डले उक्त गोल गरेका थिए ।

त्यसपछि भने डेनमार्कका सिमोन क्येरले खेलको ३९ औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा खेल १-१ को बराबरीमा पुग्यो । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा सिमोनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

यसरी पहिलो हाफ भित्र १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप गोल हुन् सकेन् र खेल अतिरिक्त समयमा पुग्यो । त्यस क्रममा खेलको १ सय ४ औं मिनेटमा इंग्ल्यान्डले दोस्रो गोल गर्न सफल भयो ।

महेलले स्टर्लिङलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । जसमा कप्तान केनको पेनाल्टी प्रहारलाई स्माइकलले विफल पारेपनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई उक्त महत्वपूर्ण जित दिलाएका थिए ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीको सामना गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ  ।

प्रतिक्रिया दिनुहोस्