युरोकप आजबाट

युरोकप आजबाट

एजेन्सी । युरोपेली मुलुकहरुको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोपेली च्याम्पियनसिप (युरोकप) आज राती देखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा इटालीले ट्रकीको सामना गर्नेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार राती पौने १ बजेपछि रोमस्थित ओलम्पिक स्टेडियममा सुरु हुनेछ ।

कुल २४ राष्ट्रको सहभागिता रहेको यस प्रतियोगिताका खेलहरु ११ देशका ११ शहरमा आयोजना हुँदैछ । अघिल्लो वर्षनै आयोजना हुने तय भएको भएपनि कोभिड-१९ को कारण प्रतियोगिता स्थगित हुन् पुगेको थियो । त्यसकारण यस १६ औं संस्करणलाई युरोकप २०२० नै भनिएको छ ।

यता प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । सहभागी टोली मध्य एक तिहाई टोलीलाई उपाधिको दाबेदार मानिएको छ । हालसम्म युरोमा जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि उचाल्दा फ्रान्सले २ पटक , तत्कालिन सोभियत युनियन , इटाली , चेक रिपब्लिक , नेदरल्यान्ड , डेनमार्क , ग्रीस र पोर्चुगलले १-१ पटक उपाधि उचालेको छन् ।

साविकको विजेता भने पोर्चुगल हो । सन् २०१६ मा भएको उक्त युरोकपमा पोर्चुगलले फाइनलमा फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको थियो । यसपटक पनि यी दुई टोलीलाई प्रबल दाबेदारको रुपमा हेरिएको छ ।

समूह विभाजन यस्तो छ !

समूह ए :इटाली (आयोजक),टर्की ,वेल्स र स्वीट्जरल्यान्ड

समूह बी : डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)

समूह सी: नेदरल्यान्ड(आयोजक),युक्रेन,अष्ट्रिया र नर्थ म्यासेडोनिया

समूह डी : इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक

समूह ई: स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड र स्लोभाकिया

समूह एफ : हंगेरी (आयोजक), पोर्चुगल, फ्रान्स र जर्मनी (आयोजक)