onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप छ्नोट : आज नेपालले जोर्डनसँग खेल्दै

काठमाडौं (अनलाइन खेल खबर) । अर्को वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा हुने एसियन कपको छ्नोट अन्तर्गत नेपालले आज जोर्डनको सामना गर्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राती पौने १० बजेपछि सुरु हुने खेलमा नेपाल जितको खोजिमा रहने छ ।

नेपालका प्रशिक्षक अब्दुलाह अलमुताईरीले यस बारेमा स्पष्ट धारणा समेत राखिसकेका छन् । जोर्डनको सामना गर्नु अघि पत्रकारहरुसँग कुरा गर्दै उनले नेपाल स्पष्ट जितको खोजिमा रहने बताएका थिए ।

तर उनले आत्मविश्वास ब्यक्त गरेपनि नेपालका लागि भने त्यति सहज पक्कै देखिदैन । तुलनात्मक रुपमा हेर्ने हो भने पनि जोर्डन केही माथि देखिन्छ । यसो भनिरहदा नेपालको पछिल्लो खेल अझ विशेष गरि प्रशिक्षक अब्दुलाहको आगमनसँगै नेपाली टोलीको मानसिकतामा परिवर्तन भएको पाईएको छ ।

टोली सकारात्मक देखिएको छ । उनको प्रशिक्षणमा रहेको नेपाली टोलीले यस बीचमा इराकसँग मैत्रीपूर्ण खेल खेल्यो । जसमा नेपालले एक समय अग्रतानै कायम गरेको थियो । खेल भने नेपालले ६-२ ले गुमाएको थियो ।

बलियो इराकविरुद्ध त्यो हार ब्यहोरे पनि नेपाली टोलीका लागि केहि कुराहरु सुखद पनि रहयो । नेपालले पनि गोल गर्न सक्छ है भन्ने सन्देश त्यस खेलबाट दिन थाल्यो ।

इराकसँगको त्यो मैत्रीपूर्ण खेलपछि नेपाल छ्नोट खेलहरु खेल्न कुवेत प्रस्थान गर्यो । जस अन्तर्गत नेपालले बाँकी तीन खेल मध्य चाइनिज ताइपेईसँग खेलिसकेको छ । शनिबार भएको उक्त खेलमा नेपालले ताइपेईलाई २-० गोल अन्तरले पराजित गर्न सफल पनि भयो ।

टिमलाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक -एक गोल गरेका थिए । ताइपेईपछि आज नेपालले बलियो जोर्डनसँग खेल्न लागेको हो ।

फिफा वरियतामा पनि जोर्डन धेरै माथि रहेको छ । हाल जोर्डन ९५ औं स्थानमा रहँदा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ । यस वरियताले पनि टिमको स्तर सजिल्यै अनुमान त गर्न सकिन्छ तर यसो हेरिरह्दा नेपालले पनि सम्भावनाको ढोका भने खोलिसकेको अवस्था छ । जुन सकारात्मक देखिन्छ ।

छ्नोट अन्तर्गतनै यसअघिको पहिलो भेटमा नेपालमाथि जोर्डनले ३-० गोल अन्तरले पराजित गरेको थियो । समग्रमा यी दुई टोली तीन पटक आमने सामने भएका छन् । जसमध्य सन् २०११ मा विश्वकप छ्नोट अन्तर्गतनै भएको भेटमा नेपाल ९-० ले पराजित हुँदा दोस्रो खेल १-१ को बराबरीमा सकिएको थियो ।

दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालका तर्फबाट भरत खवासले उक्त गोल गरेका थिए ।

यता छ्नोटको अंकतालिकामा जोर्डन तेस्रो स्थानमा रहेको छ । हालसम्म ५ खेल खेलेको जोर्डनले १० अंक जोडेको छ भने अंकतालिकाको चौथों स्थानमा रहेको नेपालको ६ खेलबाट ६ अंकनै रहेको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाको १५ अंक र दोस्रो स्थानमा रहेको कुवेतको १० अंक रहेको छ । भने पुछारमा रहेको चाइनिज ताइपेई अंकविहिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्