onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौंले उचाल्यो नेपाल सुपर लिगको उपाधि

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले उचालेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।

टिमलाई च्याम्पियन बनाउने क्रममा काठमाडौंका भरपर्दा खेलाडी मेसौके ओलुमोउले उक्त निर्णायक गोल गरेका थिए ।
खेलको २१ औं मिनेटमा विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौकेले उत्कृष्ट फिनिस गरेका थिए । यो सँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनले आफ्नो गोल सङ्ख्या ८ पुर्याए ।

पहिलो हाफमा १-० ले पछि परेको धनगढीले दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गरेको भएतापनि गोल गर्न सकेन् । प्रतियोगितामा यसअघिको दुई भेटमा धनगढीले काठमाडौलाई हराएको थियो । तर फाइनलमा भने त्यो लय दोर्हाउन नसक्दा धनगढी उप-विजेतामै सिमित हुन् पुग्यो ।

उपाधिसँगै काठमाडौंले नगद ३५ लाख प्रात गर्दा धनगढीले १५ लाख प्राप्त गरेको छ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा) को प्राविधिक सहयोगमा भएको प्रतियोगितामा ७ फेन्चाइज टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्