onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ललितपुरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्स फाइनल प्रवेश गरेको छ ।

फाइनल प्रवेश गर्ने क्रममा काठमाडौंले बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्यो ।

टिमलाई फाइनल पुर्याउने क्रममा काठमाडौंका मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरे ।

काठमाडौंले खेलको १४ औं मिनेटमा अग्रता कायम गरेको थियो । ललितपुरका कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसौके ओलुमोउलाई लडाएपछि काठमाडौंले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । जसमा उनै मेसौकेले उक्त अवसरलाई न्याय गरे । त्यसपछि मेसौकेलेनै खेलको २१ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे ।

यसरी पहिलो हाफ भित्र २-० को अग्रता बनाएको काठमाडौंले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ६० औं मिनेटमा स्टेफनले काठमाडौंका लागि तेस्रो गोल गरेका थिए ।

काठमाडौं पहिलो क्वालिफायरमा पराजित टोली हो । उक्त खेलमा धनगढीसँग अतिरिक्त समयमा २-१ ले पराजित भएको थियो । प्रतियोगिताको प्राबधान अनुसार पहिलो क्वालिफायरको पराजित टोलीको हैसियतबाट काठमाडौंले एलिमिनेटरको विजेता ललितपुरसँग खेलेको थियो । ललितपुरले भने एलिमिनेटरमा बुटवल लुम्विनीलाई १-० ले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो ।

यो सँगै अब उपाधिका लागि काठमाडौं र धनगढीबीच शनिबार प्रतिष्पर्दा हुने भएको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भईरहेको प्रतियोगितामा ७ फेन्चाइज टोलीको सहभागिता रहेको थियो । जसको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत विधातर्फ सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्