onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बुटवललाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा

काठमाडौं (अनलाइन खेल खबर)। बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै ललितपुर सिटी एफसीले काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर खेल्ने भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा बुटवलमाथि ललितपुरले १-० को गोल अन्तरले जित आत्मसाथ गर्दै दोस्रो क्वालिफायर खेल्ने भएको हो ।

अब ललितपुरले फाइनल प्रवेशका लागि बिहिबार पहिलो क्वालिफायरको पराजित टोली काठमाडौं रेजर्ससँग खेल्नेछ । मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग २-१ ले पराजित हुन् पुगेको थियो ।

यता ललितपुरलाई दोस्रो क्वालिफायरमा पुर्याउन ललितपुरका अन्जन विष्टले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा अन्जनले खेलको ६०औं मिनेटमा उक्त गोल गरेका थिए । मिक्छेन तामाङको क्रसलाई अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरेका थिए ।

कुल ७ फेन्चाइज टोलीको सहभागीता रहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्