onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चितवनमाथि रोमान्चक जित निकाल्दै पोखरा तेस्रो स्थानमा उक्लियो

काठमाडौं (अनलाइन खेल खबर) । चितवन एफसीमाथि रोमान्चक जित हासिल गर्दै पोखरा थन्डर्स काठमाडौंमा जारी फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो स्थानमा उक्लिएको छ ।

अंकतालिकाको तेस्रो स्थानमा उक्लिने क्रममा पोखराले शुक्रबार चितवनलाई २-१ ले पराजित गर्यो । यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको पोखराको प्ले अफमा समिकरण यथावतनै रहेको छ । यता पोखरासँग पराजित भएसँगै चितवन एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिको छ ।

प्ले अफ समीकरण जिवितै राख्न गर या मरको स्थितिमा रहेको पोखराका लागि नवयुग श्रेष्ठ र राफायल रिमगागोले १-१ गोल गरेका थिए । चितवनको तर्फबाट एक मात्र गोल शिशिर लेखीले गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ७२ औं मिनेटमा चितवनले अग्रता कायम गरेको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा शिशिरले उक्त गोल गरेका थिए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा पोखराले खेललाई बराबरीमा ल्याउन सुनौलो अवसर प्राप्त गर्यो । चितवनका गोलकिपर विशाल सुनारले डि बक्स बाहिर निस्केर हातले बल क्लियर गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । त्यसबाफत पोखराले फ्रिकिकको अवसर पायो । सोहि फ्रिकिकमा पोखराका कप्तान नवयुग श्रेष्ठले ८५ औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेल १-१ को बराबरीमा चल्दै गर्दा इन्जुरी समयको पाँचौ मिनेटमा राफायलले उत्कृष्ट गोल गर्दै पोखरालाई २-१ को रोमाञ्चक पूनरागमन जित दिलाए ।

यता खेलमा उदायमान खेलाडी चितवनका गोलकर्ता शिशिर लेखी घोषित भए । त्यसबाफत उनले१० हजार रुपैयाँ हात पारे । यस्तै खेलको प्लेयर अफ द म्याच पोखराका रवि पासवान घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्