onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौंसँग बुटवल लुम्बिनी स्तब्ध

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा जारी नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा काठमाडौंले मंगलबार बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्यो ।

टिमलाई महत्वपूर्ण जित दिलाउने क्रममा काठमाडौंका विदेशी खेलाडी स्टेफेन बिनोङले निर्णायक गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुरुवाती अवस्थामै खेलले रौनकता थपेको थियो । खेलको पाँचौं मिनेटमा लामो पासबाट आएको बलमा गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा स्टेफेनले त्यसलाई सहजै गोलमा परिणत गरेका थिए ।

सुरुवाती पाँचौ मिनेटमा १-० ले पछि परेको बुटवल लुम्बिनीले त्यसको एक मिनेटपछि खेललाई बराबरीमा ल्याउन सुनौलो अवसर प्राप्त गरेको थियो । काठमाडौंका विश्वास श्रेष्ठले बुटवल लुम्बिनीका सुमन लामालाई लडाएपछि बुटवलले पेनाल्टी पाएको थियो । पेनाल्टी विलियम ओपोकुले प्रहार गरेका थिए । जसलाई काठमाडौंका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउँ गर्दा बुटवल खेललाई बराबरीमा ल्याउनबाट चुक्यो ।

त्यसपछि पनि बाँकी समयमा बुटवल प्रयासरत देखिएपनि सफल हुन् भने सकेन । यो जितसँगै काठमाडौं ७ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यता काठमाडौंसँग स्तब्ध हुन् पुगेको बुटवल भने शीर्ष स्थानमा पुग्नबाट बन्चित भयो । प्रतियोगितामा पहिलो हार ब्यहोरेको बुटवल अहिले ५ अंकका साथ चौथों स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्