onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ललितपुर र धनगढीको खेल बराबरीमा

काठमाडौं (अनलाइन खेल खबर)। नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुर र धनगढीले १-१ गोलेको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।

तर त्यसको ७ मिनेटपछि ललितपुरका कप्तान अन्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।त्यसपछि बाँकी समयमा दुबै टिमबाट गोल हुन् नसक्दा अन्ततः खेल १-१ को बराबरीमा सकियो ।

ललितपुर सिटी एफसीका निरज बस्नेत इमर्जिङ प्लेयर अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पार्दा धनगढीका दिनेश राजवंशी खेलको प्लेयर अफ द म्याच घोषित भए । त्यसबाफत उनले २५ हजार रुपैयाँ हात पारे ।

योसँगै धनगढी ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।भने समान ४ अंक रहेको बुटवल लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा रहँदा ललितपुरले ३ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

अब प्रतियोगितामा शुक्रबार काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच साँझ सवा ५ बजेपछि प्रतिस्पर्धा हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भईरहेको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्