onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चैत्रमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

काठमाडौं (अनलाइन खेल खबर) । चैत ९ देखि १७ गतेसम्म नेपालमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा )का अनुसार प्रतियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश र किर्गिस्तानको सहभागिता रहनेछ ।

नेपाल र बंगलादेशको राष्ट्रिय टोली मैदानमा उत्रिदा किर्गिस्तानको यु-२३ टोली रहनेछ । प्रतियोगिताको सबै खेल नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला दशरथ रंगशालामा हुनेछ ।

राउन्ड रोबिनमा हुने प्रतियोगितामा लिगपछि अंकतालिकाका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । विश्वकप छ्नोट अन्तर्गत अष्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने तयारी नेपालले गर्दै गर्दा कोभिड-१९ को कारण देखाउँदै एएफसीले उक्त खेल स्थगित गरेको थियो । सो खेल स्थगित हुन् पुगेपछि एन्फाले सोही समयमा यो थ्री नेसन्स कप आयोजना गर्न लागेको बताएको छ ।

नेपाली टोलीमा हाल बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट अन्तिम टोलीको घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्