onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपिएफ अपराजित रहँदै लिग च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । विभागीय टोली एपीएफले अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३-० गोल अन्तरले पराजित गरेसँगै एपीएफ अपराजित रहदै लिगको च्याम्पियन बनेको हो । लिगको अन्तिम खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् भने अनिता केसीले एक गोल गरेकी थिइन् ।
खेलमा एपीएफले खेलको ४५ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । उसका लागि उक्त गोल सरुले गरेकी थिइन् ।

पहिलो हाफ भित्र १-० ले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । एपीएफले दोस्रो गोल ८६ औं मिनेटमा गरेको थियो । टिमका लागि दोस्रो गोल अनिताले गरेकी थिइन् । यस्तै खेलको इन्जुरी समयमा एपीएफकी सरुले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा आर्मी ३-० ले स्तब्ध हुन् पुग्यो ।

यो सँगै लिगमा एपीएफले लगातार तेस्रो पटक उपाधि उचाल्न सफल भयो । उपाधिसँगै एपीएफले १५ लाख प्राप्त गर्दा उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो । यस्तै
तेस्रो भएको नेपाल पुलिसले ५ लाख प्राप्त गर्दा चौथो बनेको वालिङले ३ लाख प्राप्त गर्न सफल भयो ।

यस्तै च्याम्पियन एपीएफकी मिडफिल्डर सरु लिम्बु लिगको सर्वाेत्कृष्ट खेलाडी चयन भईन । जसवाफत एक थान स्कुटर उनले प्राप्त गरिन् । लिगको उत्कृष्ट फरवार्ड एपीएफकी साबित्रा भण्डारी चयन हुँदा पुलिसकी उषानाथ उत्कृष्ट गोल रक्षक घोषित हुन् पुगिन् । भने उत्कृष्ट डिफेन्डर पुलिसकै अमृता जैशी चयन हुन् पुग्दा उत्कृष्ट मिडफिल्डर आर्मीकी बिमला चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफकी भगवती थापा घोषित भईन् ।

७ माघबाट दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा तीन विभागीय टोली एपिएफ त्रिभुवन आर्मी, नेपाल पुलिससहित वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्