onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुलिसमाथि एपीएफको संघर्षपूर्ण जित : जितसँगै एपीएफ उपाधिको धेरै नजिक

काठमाडौं (अनलाइन खेल खबर)। काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले आफ्नो दशौं खेलमा संघर्षपूर्ण जित आत्मसाथ गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले संघर्षपूर्ण जित हासिल गर्ने क्रममा नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गरेको छ ।

खेलमा एपीएफका लागि निर्णायक गोल रबिना गोलेले गर्दा एक गोल उपहार स्वरुप प्राप्त गरेको थियो । यस्तै पुलिसकी अमृता जैसीले पनि एक गोल गरेकी थिइन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफमा एपीएफले उपहार गोलमार्फत अग्रता बनायो । खेलको  ६८ औं मिनेटमा पुलिसकी कप्तान खिम कुमारी गुरुङले आत्मघाती गोल गर्न पुगिन । एपीएफकी सावित्रा भण्डारीले प्रहार गरेको बललाई क्लियर गर्न खोज्दा खिमबाट आत्मघाती गोल हुन् पुगेको थियो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । खेललाई बराबरीमा ल्याउने क्रममा अमृता जैसीले उक्त महत्वपूर्ण गोल गरेकी थिइन् । यो सँगै जारी लिगमा एपीएफले पहिलो गोल खाएको छ ।

खेल १-१ को बराबरीमा चल्दै गर्दा खेलको ८६ औं मिनेटमा एपीएफकी रबिना गोलेले टिमका लागि महत्वपूर्ण गोल गरिन् । अन्ततः उक्त गोलनै निर्णायक हुन् पुग्यो ।

यो जितसँगै अपराजित रहेको एपीएफ उपाधिको धेरै नजिक पुगेको छ । अब एपीएफले आगामी खेलमा विराटनगर महानगरपालिकालाई पराजित गरेको खण्डमा एक खेल अघिनै च्याम्पियन हुनेछ । यी दुईबीचको खेल बुधबार हुनेछ । त्यसपछि एपीएफले लिगको अन्तिम खेलमा शुक्रबार आर्मीको सामना गर्नेछ ।

हालसम्म १० खेल खेलेको एपीएफको अंकतालिकामा ३० अंक रहेको छ । भने समान खेलबाट दोस्रो स्थानमा रहेको आर्मीको २५ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्