onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफको अर्को फराकिलो जितमा सावित्राको ६ गोल

काठमाडौं (अनलाइन खेल खबर )। काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा उपाधिको प्रबल दाबेदार विभागीय टोली एपीएफले चन्द्रपुर नगरपालिकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फराकिलो अन्तरले जित हासिल गर्ने क्रममा एपीएफले चन्द्रपुरलाई ८-० ले पराजित गर्यो ।

लिगमा अपराजित रहदै अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफका लागि अर्को फराकिलो जितमा स्टार खेलाडी सावित्रा भण्डारीले ६ तथा कप्तान अनिता बस्नेतले २ गोल गरेकी थिइन् ।

खेलमा कप्तान अनिताको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो । त्यसपछि साबित्राले छठौं मिनेटमा दोस्रो गोल गरिन् । त्यसपछि उनले नै ३२ औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन् ।

यसरी एपीएफले पहिलो हाफ भित्र ३-० ले अगाडि रहँदा दोस्रो हाफमा थप पाँच गोल गर्यो ।त्यसक्रममा खेलको ४७ औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन् भने त्यसको ८ मिनेटपछि अनिताले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्न सफल भईन् ।

अनितापछि सावित्राले क्रमशः ६०,६२ र ७९ औं मिनेटमा गोल गर्दा समग्रमा एपीएफले खेल ८-० ले जित्न सफल भयो । लिगमा एपीएफको यो लगातार आठौं जित हो । जितसँगै एपीएफले अंकतालिकामा २४ अंक जोडेको छ । यता पराजित भएको चन्द्रपुरको ८ खेलबाट ६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्