पुलिसलाई हराउँदै वालिङ तेस्रो स्थानमा उक्लियो
काठमाडौं (अनलाइन खेलखबर ) । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो हार ब्यहोरेको छ ।
लिगमा लगातार दोस्रो हार ब्यहोर्ने क्रममा पुलिस आईतबार स्याङ्जाको वालिङ नगरपालिकासँग १-० गोल अन्तरले पराजित भयो । यसअघि पुलिस विराटनगर महानगरपालिकासँग पनि १-० गोल अन्तरले पराजित भएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विभागीय टोलीमाथि जित दर्ता गर्ने क्रममा वालिङका लागि एक मात्र निर्णायक गोल क्यामरुनी खेलाडी मेथो रुथले गरेकी थिइन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा वालिङका लागि उक्त निर्णायक गोल रुथले खेलको ५८ औं मिनेटमा गरेकी थिइन् । त्यसपछि बाँकी समयमा दुबै टिमले केही राम्रो अवसर सिर्जना गरेको भएपनि गोलमा परिणत गर्न असफल रहदा खेल वालिङले १-० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यो जितसँगै वालिङ ७ खेलबाट ११ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । भने वालिङसँग पराजित हुन् पुगेको पुलिस ७ खेलबाट ८ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा झरेको छ ।