रोनाल्डोको गोलमा युभेन्ट्स विजयी
एजेन्सी । साविकको विजेता समेत रहेको युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा रोमालाई पराजित गरेको छ ।
गएराति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० गोल अन्तरले पराजित गर्यो । युभेन्ट्सको जितमा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा एक गोल उपहारस्वरुप प्राप्त गरेको थियो ।
खेलमा युभेन्ट्सले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा उक्त गोल रोनाल्डोले गरेका थिए ।
रोनाल्डोको गोलमार्फत पहिलो हाफ भित्र १-० ले अगाडि रहेको युभेन्ट्सले ६९ औं मिनेटमा उपहार गोल प्राप्त गर्दा अझ सहज भएको थियो । रोमाका रोजर इवानेजले उक्त आत्मघाती गोल गरेका थिए ।
यो जितसँगै २० खेल खेलेको युभेन्ट्स ४२ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । भने पराजित हुन् पुगेको रोमा ४० अंकका साथ चौथों स्थानमा रहेको छ ।
यता अंकतालिकाको शीर्ष स्थानमा इन्टर मिलान रहेको छ । युभेन्ट्स भन्दा एक खेल बढी खेलेको इन्टरको अहिले ४७ अंक रहदा दोस्रो स्थानमा रहेको एसी मिलानको ४६ अंक रहेको छ ।