onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पूर्व कप्तान सागर थापा मनास्लु कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं ( अनलाइन खेल खबर )। नेपाली फुटबल टोलीका पूर्व कप्तान सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

उनलाई कलेजले मंगलबार एक कार्यक्रम गरि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको थियो । उक्त कार्यक्रमका दौरान सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको थियो । एक वर्षीय सम्झौतामा कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ र सागरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि उक्त कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा कलेजका अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडर बनाएको धारणा ब्यक्त गरेका थिए ।

यस्तै प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा आफूहरुलाई धेरैनै खुशी लागेको बताउदै खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको संरक्षण गर्न मनास्लुले सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाएका थिए ।

कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त भएपनि सागरले सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिएका थिए । त्यस क्रममा उनले खेलकुदसँगै फुटबल विकासमा आफूले गर्न सक्ने सक्दो सहयोग गर्न आफू तयार रहेको समेत बताएका थिए ।

यसै शैक्षिक वर्षदेखि सुरु भएको मनास्लुले यसअघि यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो । मनास्लुले फुटबलका साथै बास्केटबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हाल सम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको कलेजले जानकारी गराएको छ ।