महिला च्याम्पियन्स लिगको उपाधि लियोनलाई

महिला च्याम्पियन्स लिगको उपाधि लियोनलाई

एजेन्सी । फ्रान्सेली क्लब लियोनले युईएफए महिला च्याम्पियन्स लिगको उपाधि उचालेको छ ।

गएराति भएको फाइनल खेलमा जर्मन क्लब वीएफएल वोल्फ्सबर्गलाई ३-१ गोल अन्तरले पराजित गर्दै लियोन प्रतियोगिताको च्याम्पियन बनेको हो ।

योसँगै लियोनले उपाधि सातपटक आफ्नो नाममा लेखाउन सफल भएको छ । यसअघि लियोनले सन् २०११ र २०१२ मा पनि लगातार उपाधि उचालेको थियो भने सन् २०१६ देखिका सबै संस्करण पनि लियोनले जितेको थियो ।

यता टोलीलाई सातौं पटक च्याम्पियन बनाउने क्रममा लियोनका लागि ईजुनय ले सोमे, सारी कुमाहाई र सारा गुनासडटिरले समान एक -एक गोल गरेका थिए । भने वोल्फ्सबर्गको तर्फबाट एक मात्र सान्त्वना गोल एलेक्जेन्ड्रा पपले गरेकी थिइन् ।

खेलमा लियोनले २५ औं मिनेटमा ईजुनय ले सोमेको गोलमार्फत अग्रता बनाएको थियो । त्यसपछि लियोनले खेलको ४४ औं मिनेटमा अर्को गोल थपेको थियो । उक्त गोल जापानिज खेलाडी सारी कुमाहाईले गरेकी थिइन् ।

पहिलो हाफ भित्र २-० ले पछि परेको वोल्फ्सबर्गले खेलको ५७ औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत गरेको थियो । उक्त महत्त्वपूर्ण गोल एलेक्जेन्ड्रा गरेकी थिइन् ।

तर खेलको अन्तिम तिर लियोनकी साराले तेस्रो गोल गर्न सफल हुँदा वोल्फ्सबर्ग स्तब्ध हुन् पुगेको थियो ।