टाईब्रेकरमा लिभरपुललाई हराउँदै आर्सनलले उचाल्यो कम्युनिटी सिल्डको उपाधी
एजेन्सी । आर्सनलले प्रिमियर लिग विजेता लिभरपुललाई टाईब्रेकरमा हराउँदै एफए कम्युनिटी सिल्डको उपाधि उचालेको छ ।
शनिबार राति वेम्बली रंगशालामा भएको फाइनल खेलमा आर्सनलले लिभरपुललाई टाईब्रेकरमा ५-४ ले हराउँदै च्याम्पियन बनेको हो ।
निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्धारण टाईब्रेकरमार्फत गरिएको थियो । जसमा आर्सनलले बाजि मार्न सफल भयो ।
निकै रोमाञ्चक बनेको खेलमा आर्सनलले खेलको १२ औं मिनेटमा अग्रता बनाएको थियो । टिमलाई सुरुवाती अवस्थामानै अग्रता दिलाउने क्रममा आर्सनलका पिएरे–एमरिक अउबमेयाङले उक्त गोल गरेका थिए ।
पहिलो हाफमा १-० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा राम्रो पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भयो । खेलको ७३ औं मिनेटमा लिभरपुलका टाकुमी मिनामिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
इंग्ल्यान्डको फुटबलमा लिग विजेता र एफ कपको विजेताले यस सिल्डको फाइनल खेल्ने प्रावधान रहेको छ ।
सोही अनुरुप प्रिमियर लिग विजेता लिभरपुल र नकआउट प्रतियोगिता एफए कपको विजेता आर्सनल सोही हैसियतबाट यी दुई टोलीले उपाधिका लागि खेलेका थिए ।
योसँगै लिभरपुल लगातार दोस्रो पटक सिल्ड उचाल्नबाट बन्चित हुन पुगेको छ । यसअघि अघिल्लो संस्करणमा लिभरपुल म्यान्चेस्टर सिटीसँग पराजित हुन् पुगेको थियो ।
योसँगै लामो इतिहास बोकेको यस कम्युनिटी सिल्डमा आर्सनल १६ औं पटक च्याम्पियन बन्न सफल भएको छ । भने फेरी पराजित हुन् पुगेको लिभरपुल १५ औं पटक च्याम्पियन बनेको छ ।