अभिषेक भारतीय क्लबमा अनुबन्धित
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल भारतीय दोस्रो डिभिजनको क्लब मोहमडन स्पोटिङ क्लबमा अनुबन्धित भएका छन् ।
एसियन कोटामार्फत उनि उक्त क्लबसँग जोडिएका हुन् । प्राप्त जानकारी अनुसार उनको र क्लबबीच तीन वर्षका लागि सम्झौता भएको छ ।
जसअन्तर्गत यहीँ अगस्टबाट सुरु भई सन् २०२३ सम्म चल्नेछ । यदि अभिषेक आवद्ध क्लब आईलिगमा छ्नोट नभएको खण्डमा वा अन्य क्लबबाट राम्रो अफर आएमा उनले सम्झौता रद्द गर्न सक्नेछन् । त्यसका लागि टोलीले बाटो खोलिदिने छ ।
यता उनलाई क्लबले कति रकममा अनुबन्धित गरेको हो भन्ने बारेमा खुलाईएको छैन । दुबै पक्षको सहमतिमा रकम गोप्य राखिएको छ ।
अभिषेकले गत वर्षको मंसिरमा घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगिता भर ४ गोल गरेका थिए ।