पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
एजेन्सी । जर्मन क्लब आरबी लाइप्जिगमाथि सहज जित निकाल्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इतिहासमै पहिलो पटक यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्न सफल भएको छ।
गएराति लिस्बनमा भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीले लाइप्जिगलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
टिमलाई फाइनलमा पुर्याउन पीएसजीका मार्किन्होस ,एन्जेल डी मारिया र जुआन बरनतले समान एक -एक गोल गरेका थिए ।
खेलमा पीएसजीले मार्किन्होसको गोलमार्फत खेलको १३ औं मिनेटमा अग्रता बनाएको थियो । मार्किन्होसले पहिलो गोल गरेपछि ४२ औं मिनेटमा डी मारियाले टिमका लागि दोस्रो गोल गरे ।
पहिलो हाफ भित्र २-० ले अगाडी रहेको पीएसजीले दोस्रो हाफमा पनि थप एक गोल गर्न सफल हुँदा लाइप्जिग समग्रमा ३-० ले स्तब्ध हुन् पुग्यो । टिमका लागि तेस्रो गोल जुआनले खेलको ५६ औं मिनेटमा गरेका थिए ।
लाइप्जिगमाथि सहज जित निकाल्दै फाइनल प्रवेश गरेको पीएसजीले अब उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासँग प्रतिष्पर्दा गर्नेछ ।